आजबाट छठ पर्वको चहलपहल सुरु : माटाका भाडा तथा फलफूलको व्यापार फस्टाउँदै

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १५ कार्तिक ।

दसैं तिहार सकिए लगत्तै छठ पर्वको चहलपहल बढ्न थालेको छ ।

यतिबेला सप्तरी जिल्ला भरि र कञ्चनरूप नगरपालिकामा छठ पर्वको सामान किन्नेहरुको उल्लेख्य मात्रामा उपस्थिति पाइएको थियो ।

कञ्चनरूप -८ स्थित कंचनपुर बजारमा बिहीबार लाग्ने हटियामा सामान किन्नेहरुको उल्लेख्य मात्रामा भिडभाड रहेको थियो ।

माटाका भाडा , बास बाट बनाईएका कुनिया , ढाकी , केरा , भोगटे , उखु , पूजाको सामान , हर्दि , अदुवाको बोट , अलुवाको लत्ति नरिवल लगायतका फलफूलहरु उल्लेख्य मात्रामा बिक्री भएको व्यापारी मजादेवी पण्डित बताउँछिन् ।

छठ पर्वमा अनिवार्य रुपमा माटोको घडा , पाला, दियोहरु तथा बास बाट तयार गरिएको कुनिया, ढाकि आदि प्रयोग हुने भएकाले यस पर्वको महत्त्व बढ्दै गएको व्यापारी कुबेर पण्डित बताउँछन् ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व शुक्रबार व्रत बसी बेलुका खर्ना गरी मनाइदै छ ।

छठ पर्व चतुर्थी बाट सुरु भई खर्ना गरी भोलि पल्ट अस्ताउँदो  सूर्यलाई र पर्सिपल्ट  उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको समापन हुन्छ ।

श्रद्धालु भक्तजनहरुले बिहीबार विहान घर , नदि , इनार , नहर , ताल , पोखरीमा स्नान गरी लौकाको तरकारी , अरुवा चामलको भात र दाल लगायतका परिकार रहेको शुद्ध साकाहारी भोजन ग्रहण गरी सूर्य भगवानको आरधना गरी छठ पर्वको सुरुवात गर्दछन् ।

छठ पर्वको दोस्रो दिन पञ्चमीमा खर्ना गरिन्छ जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरुवा चामलको पिठोबाट तयार गरिएको झोलले भूमि लाई शुद्ध पारी व्रतालुले यो दिन दिनभरि व्रत बसी राति चन्द्रोदयपछि चन्द्रमालाई पायस खीर पुरी अर्पण गरी प्रसाद ग्रहण गर्ने गर्दछन् ।

यस पर्वमा सूर्यको उपासना गर्नाले सन्तान प्राप्ति , निरोगिता , सुख शान्ति , समृद्धि र चर्म रोग निको हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउन तथा सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता रहेको पाइन्छ ।

छठ पर्व मनाउनका लागि कञ्चनरूप नगरपालिका भरिका नदि , ताल , पोखरी तलाउहरु सफा सुग्घर गरी चिटिक्क पारि छठ तयारी भइरहेको स्थानीय कृष्णहरि ढकाल बताउँछन् ।

 

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com