आज तिहारको तेस्रो दिन कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका आमन्त्रित सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ ।

नरक चतुर्दशी

आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृ त्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको गौतमले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । तिहारको तेस्रो दिन आज कुकुर तिहार, घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खुवाएर मनाइदै

मानिस र कुकुरको सम्बन्धको इतिहास कति पुरानो

निकै पहिलेका कुकुरहरूबारे उपलब्ध डिएनए परीक्षणले मानिसको साथमा कुकुर रहँदै आएको ९ हजार वर्ष पुगेको देखाएको छ। मानव जातिका पुर्खाले खेतीकिसानी सुरु गर्ने बेलामै कुकुरहरू मानव इतिहासको अङ्ग बनेका थिए। जब सुरुका मानव किसानहरू मध्यपूर्वबाट भेडा बाख्रा धपाउँदै निस्किए, उनीहरूको साथमा कुकुरपनि साथ लागेको वैज्ञानिकहरूले बताएका छन्।

उक्त डिएनए प्रमाणले पुरानो कालखण्डमा कसरी ब्वाँसा प्रजातिका जनावर आजकल हामीले चिन्ने जस्ता विभिन्न थरीका कुकुरमा विकसित भए भन्ने बताउँछ।

मध्ये पूर्वको फर्टाइल क्रेसेन्ट भनिने उर्बर भूमिक्षेत्रबाट खेतीकिसानी सुरु भयो। सो क्षेत्र भनेको हालको इराक, सिरिया, लेबनन, जोर्डन, इजरेल र इजिप्ट रहेका क्षेत्र हो। त्यतिखेरसम्म ‘हन्टर ग्यादररु भनिने घुमफिर गर्दै शिकार गरेर पेट पाल्ने चलनमा अभ्यस्त मानवजाति विस्तारै एकै ठाउँमा बस्न थाले।

विस्तारै तिनले गहुँ, जौ, कोसा तथा दालजस्ता बाली लगाउन थाले। अनि, उनीहरूले जङ्गली भेडा, गाई तथा सुँगुरलाई घरपालुवा बनाउन थाले।करिब ९ हजार वर्ष पहिले जब उनीहरू युरोप र एसियातर्फ लागे उनीहरूले आफ्ना जनावर तथा खेतीकिसानीका ज्ञान पनि साथै लगे। उक्त नयाँ अध्ययनले कुकुरहरूपनि उक्त यात्रामा सामेल भएको देखाएको छ।

युरोप तथा एसियामा फेला परेका कुकुरका हजारौँ वर्ष पुराना अवशेषमा रहेका डिएनएको परीक्षणबाट त्यस्तो पत्ता लागेको हो।

“हाम्रो अध्ययनले के देखाउँछ भने मानव र कुकुरको इतिहास जोडिएका छन्। युरोपभर बसाइँसराइका बेला कुकुरहरू मानिसका पछि लागेको देखिन्छ,” फ्रान्सको रेन विश्वविद्यालयका डा मोर्गेन ओलिभियको भनाइ।ती कुकुरहरू युरोपमा आइपुगेपछि त्यहाँ पहिलेदेखि रहेका कुकुरसँग तिनको संसर्ग भयो। त्यसले जीन पुलमा वा आनुवंशीय परिवर्तन भए।

शताब्दीयौँ सम्म त्यसरी संसर्गहरू भएपछि हालका जस्ता विभिन्न आकार र प्रकारका कुकुरहरूको विकास भएको मानिन्छ।उक्त अनुसन्धान विवरण ‘बायोलोजी लेटर्स’ नामक जर्नलमा प्रकाशित छ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com