इटहरी, जनकपुर र बुटवलबाट श्रम स्वीकृति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन थप तीन स्थानबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले एक नम्बर प्रदेशको इटहरी, दुईको जनकपुर र ५ को बुटवलबाट श्रम स्वीकृति दिने निर्णय गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले वैदेशिक रोजगारमा जाने कामदारका लागि सहज होस भन्ने उद्धेश्यसहित इटहरी, जनकपुर र बुटवलबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सरकारले चाडै ती क्षेत्रमा श्रम स्वीकृतिका लागि कार्यालय स्थापना गर्ने जनाएको छ । सिंहदरवारस्थित मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री विष्टले बैदेशिक रोजगारीका लागि बढी कामदार विदेश जाने क्षेत्र छनोट गरी श्रम स्वीकृति प्रदान गर्न कार्यालय स्थापना गर्ने बताउनुभयो । निर्णय तत्काल कार्यान्वयनका लागि प्रक्रियामा लैजाने बताउदै मन्त्री बिष्टले विद्यमान कानून अनुसार फरक नपर्ने गरी सेवा दिन प्रक्रिया मिलाउन निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारलाई सहज सरल र गुणस्तरीय सेवा प्रदान गर्न सबै खाले ‘सिन्डीकेट’ हटाईने दावी गर्दै मन्त्री विष्टले न्यून सेवा शुल्कमा कामदार पठाइने विषयमा गहन रुपमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कामदार न्युन सेवा शुल्क तिरेर वैदेशिक रोजगारीमा जाने वातावरण मिलाउन सरोकारवाला पक्षसँग छलफल गरी तुरुन्तै निर्णय लिइनेछ, ।’ सीपयुक्त जनशक्ति उत्पादन, सुरक्षित रोजगारको लागि आफूहरुले योजनाबद्ध रुपमा कामहरु अगाडि बढाउने मन्त्री विष्टको भनाई थियो । 

तपाईको प्रतिक्रिया

About the Author

Team KR News