एक समूहको धारिलो हतियार प्रहारले राजविराजका २१ वर्षीय प्रेम यादवको मृत्यु

राजविराज : एक समूहको धारिलो हतियार प्रहारले राजविराज–१ डुमरी शिवथानका २१ वर्षीय प्रेम यादवको मृत्यु भएको छ ।
२० भन्दा बढी युवाको समूहले हतियार प्रहार गरी भागेपछि घाइते यादवको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । गत मंगलबार बिहान राजविराज–२ स्थित पीस जोन बोर्डिङ्ग स्कुल अगाडि बाटोमा यादवलाई घेरा हाली राजविराज–११ फर्सेठका युवाको समूहले आक्रमण गरेका थिए ।


घाइते यादवको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका परिवारका सदस्यले बताए । यादवको शवको पोष्टमार्टम विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भएको छ । हत्यामा संलग्न सबै फरार भए पनि उनीहरुको पहिचान खुलिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए ।
डिएसपी रिमालले पुरानो रिसइवीका कारण हत्या गरिएको खुल्न आएको बताए । यादवको मृत्युपछि प्रहरीले आरोपितहरुको खोजी कार्य तिब्र पारेको बताएको छ । यस क्रममा अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरिसकेको छ । पोष्टमार्टमपछि स्थानीयवासीले राजविराजमा मृतकको शवसहित नगर परिक्रमा गर्दै हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् । बिहीबार स्थानीयले दिनभर नाराजुलुस गरी कारवाहीकाे माग गरेका हुन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com