कंचनपुरमा २ दिने बालरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न : ५ सय ९३ जनाले स्वास्थ्य जाँच गराए

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १५ कार्तिक ।

कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर सप्तरीको आयोजनामा शुक्रबार प्राथमिक स्वास्थ्य कंचनपुरमा २ दिने बालरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविर समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले शिविरमा सहयोग पुर्‍याउने स्वास्थ्यकर्मी लगायत सम्पूर्णलाई धन्यवाद दिदै नगरलाई नमुना तथा समृद्ध बनाउन स्वास्थ्यकर्मीहरुको महत्त्वपूर्ण भूमिका रहने भएकाले स्वास्थ्य क्षेत्रलाई नगरबासीहरुले महसुस गर्ने गरी सेवा प्रदान गर्नुपर्ने बताए ।

उपप्रमुख निरु पोखरेलले मानिस स्वस्थ रहे मात्र उसले राम्रो काम गर्न सक्ने भएकाले स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेकोमा प्रसंशा गर्दै अझ राम्रो गर्न आग्रह गरिन् ।

शाखा अधिकृत जगन प्रसाद श्रेष्ठ , सामाजिक विकास शाखाका प्रमुख राजेश कुमार यादव , स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता , सुरेन्द्र प्रसाद यादव लगायतका वक्ताहरूले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित र अझ बढी सुधार गरेर नगरबासीलाई राम्रो सुविधा दिनुपर्ने बताए ।

शिविरको दोस्रो दिन ३ सय ४८ जना बालबालिकाहरूको स्वास्थ्य परिक्षण गरिएको र २ दिनमा जम्मा ५ सय ९३ जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत राम सेवक यादवले बताए ।

बालरोग विशेषज्ञ डा. डम्बर प्रसाद साहको सहयोगमा संचालित शिविरमा डा. साह र प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका प्रमुख डा. संजिव कुमार झाले बालबालिकाहरुको स्वास्थ्य जाँच गरेका थिए भने स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु बिरेन्द्र साह , लक्ष्मीनारायण चौधरी , विपिन झा लगायतले सहयोगीको भुमिका निर्वाह गरेका थिए ।

शिविरमा अौषधी समेत निशुल्क रुपमा वितरण गरिएको स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले बताए ।

स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com