कञ्चनरुप नगरपालिका प्रदेश नं. २ कै पहिलो बालमैत्री नगर घोषणा हुने

उत्तम आचार्य 

कञ्चनरूप सप्तरी , १८ भदौ ।
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका संघीयता पछिको नेपालकै तेश्रो तथा प्रदेश नं. २ को पहिलो बालमैत्री नगर घोषणा हुने भएको छ । यहि वि.सं. २०७६ भाद्र १९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितद्धारा बालमैत्री नगर घोषणा हुन लागेको हो ।
नगरपालिकाले स्थानीय तहको पूर्नसंरचना अघि वि.सं. २०७१ सालदेखि नै बालमैत्री स्थानीय शासन अवलम्बन गरी निरन्तर बालबालिकाको अधिकारको क्षेत्रमा कार्य गरिहेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति एवं कार्यान्वयन कार्यविधि २०६८ अनुसार बालमैत्री नगर घोषणा गर्नका लागि ३९ ओटा सूचक मा तोकिए बमोजिमको नतिजा प्राप्त गर्नुपर्ने हुन्छ । जसमध्ये १६ ओटा तहगत खुड्किलाहरुमा कार्य गर्दै १७ ओटा सूचकमा सत प्रतिशत र २२ ओटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरेर बालमैत्री नगर घोषणा पश्चातको दिगोपनको लागि रणनीतिक योजना तयार भएपश्चात मात्र बालमैत्री घोषणा गर्न सकिने प्रावधान छ ।
कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्रका अनुसार बालमैत्री नगर घोषणा हुनु भनेको उक्त स्थानमा राम राज्य हुनु र उक्त स्थानमा बालअधिकारको सवालमा सबै काम गरेर सकिनु भन्ने चाहिँ होइन, बालअधिकारलाई प्राथमिकतामा राखी कार्य गर्नु हो । निश्चित सूचकमा नतिजा प्राप्त गरी घोषणा गरिने भए पनि थप गुणस्तरीय बालमैत्री वातावरण तयार गर्नका लागि निरन्तर कार्य गर्नुपर्ने हुन्छ, सोही बमोजिम बालमैत्री घोषणा पश्चातको दिगोपनको लागि पञ्चवर्षीय रणनीतिक योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गोरख नाथ मिश्रका अनुसार देशमा वर्षौदेखि जरो गाडेर बसेको गरिबीको कुचक्र तोड्न, आर्थिक विकास र समृद्धिको लागि सक्षम मानवस्रोत तयार गर्नुपर्छ, जसको लागि बाटो देखाउने काम बालमैत्री स्थानीय शासनले गर्दछ । सामाजिक विकास र समृद्धिको शुरुवात हो, सबै प्रतिफल आज नै देख्न नसकिएपनि केही वर्षमै यसबाट सोचेको प्रतिफल प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
केवल नगरपालिका र वडा कार्यालयको प्रयासबाट मात्रै बालमैत्री नगर घोषणा सम्भव हुदैन , यसको लागि स्वास्थ्य संस्था, विद्यालय, बालक्लब, खानेपानी तथा सरसफाई समिति, घरपरिवार र समुदाय, सुरक्षा निकाय, होटल, उद्योग वाणिज्य संघ, महिला समुह लगायत सबै सरोकारवालाहरुको संयुक्त प्रयासबाट सूचक प्राप्तीका लागि निरन्तर कार्य गरेको कारणले गर्दा नै कञ्चनरुप नगरपालिका बालमैत्री घोषणा हुन गइरहेको छ ।
बालमैत्री नगर निर्माणका लागि गरिएका प्रयासहरु
कुनै पनि नगरलाइ बालमैत्री घोषणाका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति बमोजिम नेपाल सरकारले निर्धारण गरेको ३९ सूचकमा तोकिए अनुसारको नतिजा प्राप्त गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहले पनि आवश्यकता बमोजिम सूचकहरु थप गर्न मिल्ने व्यवस्था भएसंगै कञ्चनरुप नगरपालिकाले २ सूचक थप गरि जम्मा ४१ सूचकमा कार्य गरिरहेको छ । बालमैत्री वडा तथा नगर घोषणाका लागि १७ ओटा सूचकमा सत प्रतिशत र बाँकी २२ ओटा सूचकमा ८० प्रतिशत नतिजा ल्याएमा बालमैत्री घोषणा गर्न सकिने प्रावधान छ । जसमध्ये कञ्चनरुप नगरपालिकाले ३१ ओटा सूचकमा सत प्रतिशत र १० सूचकमा ९० प्रतिशत भन्दा बढि नतिजा प्राप्त गरिसकेको छ भने १६ ओटै खुड्किलामा समेत टेकेर कार्य गरिरहेको छ । घोषणा मात्रै नभई यसको दिगोपना र गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालमैत्री नगर घोषणा पश्चातको रणनैतिक योजना बनाई नगरसभाबाट स्वीकृत भइसकेको छ, जुन चालु आ.व.२०७६÷०७७ देखि कार्यान्वयन गरिने छ ।
बालमैत्री वडा सहित नगर निर्माणका लागि बालमैत्री नगर घोषणा कार्ययोजना र लगानी योजना बनाई बालअधिकारका चार क्षेत्रहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास , वाल सहभागिता र संस्थागत सूचकहरुको क्षेत्रमा कार्य गरेको छ । बालबचाउको क्षेत्रको १० ओटा सूचकहरु प्राप्तीका लागि विशेष गरी गर्भावस्था देखि १ हजार दिन सम्मका आमाहरुलाइ सुरक्षित मातृत्व, पोषिलो खानपान, पूर्ण स्नतपान, बालबालिकाको मष्तिष्क विकासमा ध्यान दिनुपर्ने विषयमा सचेतना, सबै सुत्केरी आमाहरुलाइ पोषण भत्ता थप, कुपोषित बालबालिकाको अवस्था सुधारका लागि आवश्यक सहयोग गरेको भने आयोडिन युक्त नुनको प्रयोग, पानी शुद्धिकरण विधि, सरसफाइ सम्बन्धी सचेतना संगै सूचकको विषयमा प्रचारप्रसार र नियमित अनुमगन गर्ने काम भएको छ । यी सबै सूचक प्राप्तीका लागि विशेष गरी स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्व्यंसेविकाहरुले मुख्य भुमिका निर्वाह गर्नुभएको छ भने विद्यालय, बालक्लब, महिला समुह, खानेपानी तथा सरसफाई समितिले सहयोग गरिहरेको छ ।
त्यसैगरी बाल संरक्षणका ५ ओटा सूचकहरु प्राप्ती र समग्रमा बालबालिकाको संरक्षणको लागि बाल संरक्षण नीति तथा कार्ययोजना तयारी, जन्मदर्ता अभियान संचालन र सचेतना, वालश्रम अनुगमन र पुर्नउत्थान, वालविवाह न्युनीकरणका लागि सचेतना, बालबालिका विरुद्ध हुने हिंसा शोषण दुव्र्यवहार, लागूपदार्थ दुव्र्यसनी विरुद्ध निरन्तर सचेतना र अनुगमनका साथै नगर क्षेत्रभित्र रहेका बालश्रमिकका परिवारलाई जीवन यापन गर्नका लागि आय आर्जनमा सहयोग पुगोस् र श्रमिक बालबालिकाले पढ्ने वातावरणको सिर्जना होस् भन्ने उद्धेश्यका साथ अति विपन्न ७ ओटा घरपरिवालाई आय आर्जनको लागि सहयोग गरिएको छ । साथै अन्य परिवारहरुलाई व्यवसायीक तालिमहरु पनि प्रदान गरिएको छ । विगत ५ वर्षमा मात्रै बालक्लब तथा सम्बन्धीत सरोकारवालाद्धारा करिब ३० जनाको हुन लागेको वालविवाह रोकेर पढाइलाई निरन्तरताको लागि पहल गरिएको छ भने वालविवाह न्युनीकरणको लागि निरन्तर सचेतनामुलक क्रियाकलाप संचालन भइरहेका छन् । वि.सं. २०७२ सालमा १५८ जना बालश्रमिक रहेकोमा हाल बालश्रमिकको पुर्नस्थापना र निरन्तर सचेतना कार्यक्रम पश्चात केवल १४ जना बालश्रमिक रहेका छन् , जसको न्युनीकरणको लागि निरन्तर कार्य भइहरेको छ । बालमैत्री घोषणाका लागि बालश्रमिकको संख्यामा कमी आएको हुनुपर्ने भन्ने व्यवस्था छ ।
बाल विकासको क्षेत्र विशेष गरी शिक्षा संग सम्बन्धीत क्षेत्र हो । विद्यालय भर्ना अभियानलाइ प्रभावकारी रुपमा संचालन गर्नुको साथै विद्यालय वाहिर रहेका विचमै विद्यालय छोडेका विद्यालय उमेरका बालबालिकालाइ पुनः विद्यालय प्रवेश गराउने काम भएको छ । ५ देखि १२ वर्ष उमेरका ८८०१ बालबालिका मध्ये जना ८७०० ले आधारभूत शिक्षा प्राप्त गरिरहेको अवस्था छ भने विचमै विद्यालय छोडेका १०१ जना बालबालिकालाई विद्यालयको निरन्तरताको लागि विद्यालयहरु र शिक्षा शाखाबाट पहल भइ कार्य भइरहेको छ । विद्यालयहरुले बालमैत्री धारा, छात्रामैत्री शौचालय, बालविकास केन्द्र व्यवस्थापन, बालबालिकाको आन्तरिक प्रतिभा प्रष्फुटनको लागि अतिरिक्त क्रियाकलाप प्रभावकारी बनाएका छन् र नगरपालिकाद्धारा विगत देखि नै बालमैत्री पूर्वाधार व्यवस्थापनका लागि केही अत्यावश्यक सहयोग साथै दण्डरहित शिक्षाको प्रतिवद्धता, शिक्षक शिक्षिकालाइ बालमैत्री व्यवहार सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्नुका साथै निरन्तर अनुगमन गर्ने कार्य भइहरेको छ ।
अर्थपूर्ण बालसहभागिता सुनिश्चित गर्नको लागि योजना निर्माणको क्रममा बालभेला गरी बालबालिकाको योजनाहरु नगर विकास योजनामा समावेश गरिएको छ । विगत ४ वर्षदेखि निन्तर बालभेला गरिएको छ र सोही बमोजिम बजेट विनियोजन गरी कार्यान्वयन भइरहेको अवस्था छ । मा.वि. स्तरका विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य व्यवस्थापन समिति, योजना छनौट समितिमा बालसहभागिता सुनिश्चित गरिएको छ । हाल सम्म यस कञ्चनरुप नगरपालिकामा १०८ ओटा बालक्बल, १२ ओटा वडा स्तरीय र १ नगर स्तरीय बाल संजाल गठन गरि परिचालन गरिएको छ । बालक्लब सदस्यहरुलाइ समय समयमा क्षमता विकास तालिम प्रदान गरिएको छ । बालसंजाल र बालक्लबहरुको सक्रियतामा स्वतस्फूर्त रुपमा विविध क्रियाकलापहरु संचालन भइरहेका छन् ।
बालमैत्री स्थानीय शासनको निरन्तर संस्थागत विकासको लागि बालबालिकाको क्षेत्रमा निरन्तर निश्चित बजेट विनियोजन गरेको छ , बालमैत्री वडा र नगर निर्माणका लागि बालबालिका, कार्यालय, शैक्षिक संस्था, घरपरिवार र समुदायले पालन गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा ल्याएकोे छ , बालबालिकाको अवस्था झल्किने गरी वस्तुगत विवरण र स्थितीपत्र तयार गरेको छ , बालमैत्री नगर र वडा समिति, बाल संरक्षण समिति गठन गरी क्रियाशिल रहेको छ । बालमैत्री स्वयंसेवक तथा सहजकर्ताहरु परिचालन गरेकोे छ । रेडियो पत्रपत्रिका लगायत विभिन्न माध्यमबाट बालमैत्री वातावरण र सरोकारवालको भुमिकाको विषयमा निरन्तर प्रचार प्रसार गर्ने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com