कञ्चनरूप नपाद्वारा सुनौलो हजार दिनका गरिब , दलित , विपन्न वर्गका गर्भवती सुत्केरी आमाहरूलाई निशुल्क फलफूलका बिरुवा वितरण

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ५ साउन ।

कञ्चनरूप नगरपालिकाले आइतबार सुनौलो हजार दिनका गरिब , दलित , विपन्न वर्गका गर्भवती सुत्केरी आमाहरूलाई निशुल्क रुपमा फलफूलका बिरुवा वितरण गरेको छ ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले खासगरी गरिब , दलित , विपन्न परिवारका महिला तथा बालबच्चाहरुको स्वास्थ्य कमजोर हुने भएकोले सुनौलो हजार दिनका आमाहरूले आफ्नो बालबच्चा सहित परिवारको स्वास्थ्यमा विशेष ध्यान दिई आफ्ना छोराछोरीहरुलाई विद्यालय पठाई छोराछोरीमा लगानी गर्न आग्रह गरे ।

साथै आर्थिक प्रगति र सामाजिक सुधारमा लाग्न समेत आग्रह गरे । मानिसको स्वास्थ्य राम्रो भयो भने र उच्च शिक्षा हासिल गरेमा त्यो परिवार सुखी र सम्पन्न हुनुका साथै समाजमा समेत परिवर्तन आउने बताए ।

स्वास्थ्य शाखा संयोजक डम्बर प्रसाद गुप्ताले सुनौलो हजार दिनमा आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने कुराको जानकारी गराउँदै पोषणलाई प्रबर्द्धन गर्नका लागि फलफूलका बिरुवा वितरण गरिएको बताए ।

प्रेस सल्लाहकार उत्तम आचार्य , बहुक्षेत्रीय पोषण कार्यक्रमका स्वयंसेवीका सुशीला लेखी लगायतका वक्ताहरूले छोराछोरी र परिवारको स्वास्थ्य र शिक्षामा विशेष जोड दिन आग्रह गरेका थिए ।

वडा नं. ३, ५, ६, ८, १० का प्रत्येक वडाबाट ३० जनाका दरले जम्मा १ सय ५० जना सुनौलो हजार दिनका आमाहरूलाई प्रतिव्यक्ति आँपको बिरुवा १ थान , कागतीको बिरुवा १ थान र लिच्चिको बिरुवा १ थानका दरले वितरण गरिएको थियो भने नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com