कञ्चनरूप नपामा ७ सदस्यीय नगर उद्यम विकास समिति सर्वसम्मत रुपमा गठन

उत्सव आचार्य

कञ्चनरुप सप्तरी , ३१ वैशाख ।

घरेलुु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजको आयोजनामा मंगलबार कञ्चनरूप नगरपालिकाको सभाहलमा नगर उद्यम विकास समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालयका घरेलु अधिकृत सन्तोष कुमार साहले स्थानीय तहमा भएको श्रोत साधनलाई परिचालन गरि उद्यमशील बनी समाजको रुपान्तरणमा लाग्नु नै नगर उद्यम विकास समितिको लक्ष्य रहेको बताउदै गरिबी पछौटे पनलाई न्यूनीकरण गर्न लघु उद्यमशील कार्यक्रमले ठूलो मद्दत गर्ने बताए ।

नगर प्रमुख बसन्त कुमारले नगरको आर्थिक उन्नतिका लागि साना उद्यमशीलहरुको विकास हुन आवश्यक रहेको बताउदै पछि परेका वर्ग र आर्थिक स्थिति कमजोर भएकालाई माथि उकास्न का लागि र साना लघु उद्यमीको विकास गर्न नगरपालिकाले पूर्णरूपले सहयोग गर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले पछाडि पारिएको वर्गलाई उद्यमशीलताको माध्यमबाट जनचेतना फैलाई व्यवसाय संचालन गर्न महत्त्वपूर्ण रहेको बताए ।

उद्यम विकास समिति सप्तरीका अध्यक्ष मोहम्मद करिम राइनले स्थानीय श्रोत साधनलाई परिचालन गरि व्यवसाय संचालन गरेका सानासाना व्यवसाय संचालन गर्ने समूहलाई मिलाई उद्यम विकास समिति गठन गरिने र गठन पश्चात् व्यवसाय संचालन गर्न सजिलो हुने कुराको जानकारी गराए ।

सो कार्यक्रमबाट नगर प्रमुख बसन्त कुमारको संयोजकत्वमा ७ सदस्यीय नगर उद्यम विकास समिति सर्वसम्मत रुपमा गठन भएको छ ।

जस्को सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र , दलितबाट रमानन्द सरदार , महिलाबाट फूलो देवी साह , लघु उद्यमीबाट सीताराम पण्डित , सदस्य सचिवमा जगन प्रसाद श्रेष्ठ र घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग अधिकृत सन्तोष कुमार साह रहेका छन् ।

कार्यक्रममा वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , विषयगत शाखाका प्रमुखहरू , प्रशासन अधिकृत जगन प्रसाद श्रेष्ठ , प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो भने घरेलु तथा साना उद्योग कार्यालयका सहजकर्ताद्वय भाष्कर पाण्डे र विरेन्द्र प्रसाद साहले सहजीकरण गरेका थिए ।

नगर प्रमुख बसन्त कुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com