कर्मचारीहरुले घुस बिना कामै नगर्ने प्रवृतिप्रति प्रदेश २ सरकारको ध्यान केन्द्रीत

सप्तरी ।
भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीहरुको घुस बिना कामै नगर्ने प्रवृतिप्रति प्रदेश २ सरकारको ध्यान केन्द्रीत भएको छ ।
सप्तरीको मालपोत कार्यलयका नायव सुब्वा वासुदेव मण्डल सेवाग्राहीसँग ४० हजार घुस लिएको आरोपमा पक्राउ परेको भोलिपल्टै प्रदेश २ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले कार्यालयमा छड्के निरीक्षण गरेका छन् ।
घुस लिएर काम गर्ने प्रवृति मौलाएको विषयमा कर्मचारीहरुलाई सचेत गराउँदै मन्त्री साहले संघीय सरकारको वेवस्ताका कारण कर्मचारीको पनि अभाव देखिएको बताए ।
मन्त्री साहले कर्मचारी अभावका कारण सेवाग्राहीलाई सास्ती खेप्नुपरेको भन्दै कर्मचारी परिपूर्ति गर्न आफूले तत्काल संघीयसमक्ष कुरा राख्ने बताए । कार्यालयमा यसअघि गत फागुन ५ गते पनि अख्तियारले ३ हजार घुस रकमसहित एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको थियो ।
मालपोत कार्यालयमा सेवा दस्तुर बुझाएपछि मात्रै काम हुने र हाक्काहाक्की रकमको मोल तोल गरेर मात्र सेवाग्राहीको कामकाज गर्ने गरेको सुनेपछि आफू निरीक्षणमा आएको साहले जानकारी दिए ।
मन्त्री निरीक्षण क्रममा मालपोत कार्यालयको रजिष्ट्रेसन फाँटसहित अन्य विभिन्न फाँटको निरिक्षणपछि सेवाग्राहीलाई सहज सेवा दिने विषयमा कर्मचारीलाई निर्देशन दिए ।
उनले पैसा माग्ने तथा फाइल अल्झाएर जनतालाई दुःख दिने कुरा कदापि स्विकार्य नहुने भन्दै मन्त्री साहले कर्मचारीहरुको निगरानी गर्न तथा अराजकता र अनियमितता नियन्त्रण गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com