उत्सव आचार्य
कञ्चनरूप सप्तरी , ३ कार्तिक ।
कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरूप -१२ रुपनगरको १८ अौ वार्षिकोत्सबको अवसरमा शनिबार विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै महत्त्वपूर्ण निर्णयहरू गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले स्वास्थ्य क्षेत्रमा राम्रो सँग सुधार गर्नका लागि आफू चिन्तित रहेको बताउँदै कृति सामुदायिक उपचार केन्द्रलाई आफ्नो तर्फबाट हुने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
उपचार केन्द्रका पूर्व अध्यक्षद्वय हुतराज रेग्मी र मो. इस्लामले यस स्वास्थ्य संस्थालाई सबैले सहयोग गरी नमुना बनाउनुपर्नेमा जोड दिए ।
उपचार केन्द्रले व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु हुतराज रेग्मी , मिश्रीलाल साह , डम्बर राई , पुष्पराज खतिवडा , मो. इस्लामलाई सम्मान-पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो भने पूर्व अध्यक्ष स्व. पशुपतिनाथ पोखरेललाई मरणोप्रान्त सम्मान गरेको छ, उहाँको सम्मानपत्र र दोसल्ला उहाँका साइलो छोरा नवराज पोखरेललाई प्रदान गरिएको थियो ।
त्यसैगरी उपचार केन्द्रका ल्याब असिस्टेन्ट भुपेन्द्र प्रसाद चौधरीलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । चौधरीले २०५९ सालदेखि हालसम्म १७ वर्ष सेवा दिएको छन् भने उनी अहिले नेपाल विद्युत प्राधिकरणमा लोकसेवा पास गरी सो ठाउँमा काम गर्न जादै छन् ।
सो वार्षिकोत्सब कार्यक्रमले तिलगंगा आँखा अस्पताल काठमाडौंसँग आँखा शिविर संचालन र आँखा उपचार केन्द्रको युनिट राख्नका लागि अनुरोध गर्ने , सर्पदंशक उपचार केन्द्र संचालनका लागि नेपाली सेनाको मुख्यालय काठमाडौंसँग समन्वय गर्ने , एम्बुलेन्स सेवा सञ्चालनका लागि राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेल र प्रतिनिधि सभाका सदस्य सरिता गिरी यादव सँग समन्वय गरी स्वास्थ्य मन्त्रालयसँग अनुरोध गर्ने जस्ता महत्त्वपूर्ण निर्णय गरी वार्षिकोत्सब सम्पन्न भएको थियो ।
स्वागत मन्तव्य उपाध्यक्ष देवनारायण श्रेष्ठले गरेका थिए भने अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।