जनकपुरमा धर्नामा बसेका सप्तरीका सञ्चारकर्मी माथि प्रहरीको हस्तक्षेप

उत्तम आचार्य 

सप्तरी  , २९ जेठ । हुलाक कार्यालय जनकपुरमा आज धर्ना बसेका सप्तरीका एक दर्जनबढी सञ्चारकर्मीलाई प्रहरीले बल प्रयोग गरि पक्राउ गरेको छ । पत्र–पत्रिकालाई प्रदान गरिँदै आएको लोक कल्याणकारी विज्ञापन वापतको पैसा कटौती गरिएकोप्रति विरोध जनाउँदै धर्ना बसेका सप्तरीका संचारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

शान्तिपूर्ण धर्ना र तालाबन्दी कार्यक्रम रहेको र धर्नास्थलमा प्रहरीले हस्तक्षेप गरी ९ जना पत्रकारहरुलाई पक्राउ गरेको हो । धर्नाबाट पक्राउ गरिएका पत्रकारहरुमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश नम्बर २ का सचिव आरएन विश्वास, महासंघका प्रदेश सभासदद्वय वैद्यनाथ यादव, नवीनकुमार गुप्ता, सप्तरी शाखाका कार्यसमिति सदस्य भूषणकुमार सिंह र विन्दु यादव तथा सदस्यहरु धर्मपाल राउत, गोपाल गुप्ता र परिस कर्णसहित ९ जना पत्रकार रहेका छन् । पक्राउ गरिएका पत्रकारहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको महासंघ सप्तरी शाखाका सल्लाहकार श्रवण कुमार देवले जानकारी दिए ।
लोककल्याणकारी विज्ञापनको भुक्तानीमा भारी कटौती गरिएको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग राख्दै पत्रकारहरु शान्तिपूर्ण धर्नामा बसेका थिए । उनीहरुलाई बुधबार दिउँसो ४ बजे धुनषा स्थित जिल्ला हुलाक कार्यालय धर्ना स्थलबाट पत्रकारमाथि प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ शाखा सप्तरीले विज्ञप्ति जारी गरी पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
‘आफ्ना जायज मागहरु राखी शान्तिपूर्ण रुपमा धर्ना बसिरहेका अवस्थामा प्रहरीबाट हस्तक्षेप भई पत्रकार पक्राउ गरिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो’, सचिव जितेन्द्र झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासंघले प्रहरीबाट भएको दमनको निन्दा र भत्र्सना गर्दै पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ । पत्रकारहरुले उठाएका जायज मागहरुप्रति गम्भीर भई यथाशीघ्र पूरा गर्न सरकारसँग माग विज्ञप्ति मार्फत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com