जिल्लामा पहिलो भूकम्प प्रतिरोधी भवन निर्माण

सप्तरी

दातृ निकायको सहयोगमा सप्तरी जिल्लामा पहिलो भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण भएको छ ।तिलाठी कोइलाडी गाउँपालिकामा पर्ने तिलाठी माविमा जापानको एशोसिएशन फर नेपाल साइनेप्स सेल्फ रिलायन्स सपोटए इन जापानले तिनकोठे भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरेको हो ।

भवन निर्माणका लागि फलामे छड, सिमेन्ट, दक्ष डकर्मी, प्राविधिक, फलामे झ्याल, भेन्टिलेसन गरी रु ३६ लाखको लागतमा निर्माण भएको निर्माण कार्यमा संलग्न क्रिएशन नेपालका अध्यक्ष आनन्दकुमार मिश्राले बताए ।
भवन निर्माण सम्पन्न भएपछि आइतबार एक समारोहका बीच दातृ निकायका नेपाल प्रमुख मि. केईको.वाडाले हस्तान्तरण गरे ।
कृषि, शिक्षा, सामुदायिक विकासको क्षेत्रमा एक दशकदेखि नेपालमा कार्यरत संस्थाको यो योजना सप्तरी जिल्लामा भने पहिलो हो । भूकम्प पछि संस्थाले शिक्षा क्षेत्रलाई विशेष ध्यान दिन थालेको र भौतिक पूर्वाधारको अभाव खेप्दै आएका विद्यालयलाई प्राथमिकतामा राखी भवन निर्माण गर्न सकेकोमा वाडाले खुशी व्यक्त गर्दै भने–यहाँका बालबालिकाहरुले मनमा भूकम्पको त्रास राखेर अब पढनु नपर्ने कुराले खुसी छु ।

फरडेज कम्पनीका मालिक रहेका वाडाले भवन हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुलाई नवनिर्मित भवनमा राम्रोसँग पढ्न र पढेपछि सामाजिक काम गर्न सुझाए । सप्तरीका साथै वाडाको कम्पनीले सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरेका छन् ।
विगत १३ वर्ष देखि नेपालको विभिन्न भागमा युवा विकास, स्वयं सेवा र वातावरणको क्षेत्रमा काम गर्दै आएको क्रिएसन नेपालका अध्यक्ष मिश्राले आफ्नै जिल्लामा काम गर्ने अवसर मिलेकोमा जिल्लाको विकासमा समेत ध्यान दिने प्रतिवद्धता जनाए ।

क्रिएशनले २०१५ को विनाशकारी भूकम्प पश्चात पूनर्निर्माणलाई प्राथमिकतामा राखेपछि उक्त दातृ निकायको सहयोगमा अहिलेसम्म विभिन्न जिल्लामा १० वटा भूकम्प प्रतिरोधी विद्यालय भवन तथा ललितपुरमा ४९ घर र एक सामुदायिक भवनसहितको एकिकृत वस्ती निर्माण गरिसकेको छ । हस्तान्तरण कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, समाजसेवीहरुले भौतिक पूर्वाधारको अभाव भएको क्षेत्रमा लगानी गरी खस्किदो शिक्षा र सामाजिक विकासको काममा सहयोग गरेकोमा दातृ निकायलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com