नेवा समाजद्वारा बस्तिपुरमा न्यु दया भिन्तुना नेपाल संवत् ११४० भव्य रुपमा मनायो

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १० कार्तिक ।

नेवा समाज जिल्ला कार्य समिति कञ्चनरुप -१२ रुपनगर बस्तिपुर सप्तरीले आइतबार नेवा समाजको गुठी भवनमा न्यु दया भिन्तुना लशकुश नेपाल संवत् ११४० भव्य रुपमा मनाएको छ ।

सो कार्यक्रममा बोल्दै कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले सबै जातजाति , भाषाभाषीको संस्कृति , चाडपर्वलाई सम्मान र संरक्षण गरे मात्र नेपाललाई समृद्ध बनाउन सकिने बताए ।

सबैले शिक्षा र स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने बताउँदै प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरलाई अस्पताल बनाउने काम चाडै हुने , नगरभित्र चक्रपथ , खेल मैदान , नदि नियन्त्रण , सिचाइ जस्ता महत्त्वपूर्ण कामको थालनी चाडै सुरुवात हुने अवस्थामा रहेको हात्ती तथा जंगली जनावरको आतंकलाई नियन्त्रण गर्न विज्ञहरू सँग सल्लाह भइरहेको समेत बताए ।

मदनभण्डारी मार्गको कालोपत्रे गर्ने काम र मदनभण्डारी खेलग्रामको छठ पछि काम सुरु हुने बताउँदै नगरबासीको शिर निहुरिन नदिने र सुशासनलाई कायम राख्न आफू कटिबद्ध भएर लाग्ने समेत बताए ।

प्रतिनिधि सभाकी सांसद सरिता गिरी यादवले हाम्रा अग्रजहरुले के गरे इतिहासले के भन्यो त्यसबाट पाठ सिक्दै सामाजिक सदभावलाई कायम राखि सामाजिक रुपान्तरण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गरिन ।

शंखाधर साख्वा एक सामाजिक अभियान्ता भएको र उहाँले किसानहरूलाई ऋणबाट मुक्त गरेर किसानको हितमा काम गर्ने महत्त्वपूर्ण व्यक्तित्वलाई सम्झने दिन ज्यादै महत्त्वपूर्ण रहेको र सोही दिनदेखि नेपाल संवत् मनाउन थालिएको बताइन्छ ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले यो पर्व कञ्चनरूप नगरपालिकाको गहना भएको कारणले यसलाई कञ्चनरूप नगरपालिकाले संरक्षण गर्नुपर्ने बताउँदै सबै जातजाति र भाषाभाषीको संस्कृतिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको बताए ।

नेवा समाजका प्रदेश नम्बर -२ का संयोजक दक्षनारायण श्रेष्ठ , प्रेस सल्लाहकार उत्तम आचार्य , थारू कल्याणकारी सभाका लक्ष्मी चौधरी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा नेवा समाजका ज्येष्ठ नागरिक कञ्चनरूप १२ की हेमकुमारी श्रेष्ठ र डिल्ली नारायण श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

नेवा समाजको गुठी भवनबाट पञ्चकन्या , लाखे , झाकी सहित निस्किएको र्यालि नगरको विभिन्न भाग परिक्रमा गरी गुठी भवनमा आई सभामा परिणत भएको थियो ।

नेवा समाजले कञ्चनरूपमा २०५९ सालदेखि नेपाल संवत् ( न्यु दया भिन्तुना ) मनाउन सुरु गरेको हो ।

स्वागत मन्तव्य नेवा समाजका पूर्व अध्यक्ष बम बहादुर श्रेष्ठले गरेका थिए भने नेवा समाजका सप्तरी अध्यक्ष नेवा दे दवु जितबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com