नेवा समाजद्वारा संस्कार , संस्कृति एवं संगठन सुदृढीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ७ वैशाख ।

नेवा समाज प्रदेश नम्बर २ ले शनिबार सप्तरीको कञ्चनरूप १२ रुपनगर बस्तीपुर स्थित रहेको नेवा समाजको गुठी भवनमा शुभकामना आदानप्रदान तथा नेवार जातिहरुको संस्कार , संस्कृति एवं संगठन सुदृढीकरण सम्बन्धि बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

सो कार्यक्रममा बोल्दै कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले जबसम्म नेपालमा हरेक जातीको विकास हुदैन तबसम्म राष्ट्रको विकास नहुने बताउँदै संस्कृतिको संरक्षणको साथै भाषा , ज्ञान शीपको विकास हुन उत्तिकै आवश्यक रहेको बताए ।

शिक्षामा जुन जातीले विशेष ध्यान दियो त्यही जाती अगाडि बढ्ने र ध्यान नदिने जाति पछाडि परेको इतिहास रहेको बताउदै शिक्षामा सबैले विशेष ध्यान दिनुपर्ने बताए । 

शिक्षा , स्वास्थ्य , आर्थिक प्रगति र सामाजिक सुधारका लागि नगरपालिकाले विशेष ध्यान दिएर अगाडि बढेको हुदा यसमा सबैको सहयोग रहन आवश्यक रहेको बताए ।

नेवा समाजका केन्द्रीय सदस्य धनश्याम श्रेष्ठले छरिएर रहेका नेवारहरु लाई गोलबद्ध गर्दै जातीय संगठनलाई अगाडि बढाउनका लागि जनचेतना फैलाउन आवश्यक रहेको बताउदै हरेक स्थानीय तहले नेवार जातीको क्षमता विकास र संगठन सुदृढीकरणका लागि ध्यान दिन आवश्यक रहेको बताए ।

नेवा समाज प्रदेश नम्बर २ का संयोजक दक्षनारायण श्रेष्ठले नेवार जातीको आफ्नै मौलिकता , भेषभूषा , संस्कार , संस्कृति , भाषा र स्वभाव रहेको हुदा जातीय पहिचानलाई संरक्षण गर्ने अभियानमा नेवा समाज लागि रहेको हुदा भाषा कला संस्कृति भेषभुषा र जातीय पहिचानको संरक्षण गर्न सबै एकजुट हुनु आवश्यक रहेको बताए ।

नेवा समाजका राजविराज नगर अध्यक्ष एवम् उद्योग वाणिज्य संघका सप्तरी अध्यक्ष अरुण प्रधानले नेतृत्वकर्ताको मार्गदर्शन सहि भएमा मात्र त्यो संगठनले राम्रो काम गर्ने बताउँदै समाजलाई केही दिनुपर्छ , केही गर्नुपर्छ भन्ने सोच भएमा त्यो व्यक्ति आफैं अगाडि बढ्ने बताए ।

आफू जातीयतामा विश्वास नगर्ने बताउदै राम्रो काम गरेमा आफैं अगाडि बढिने र सबभन्दा पहिले आफ्नो सोचाइमा परिवर्तन हुन आवश्यक रहेको बताए ।

प्रदेश नम्बर १ संयोजक इन्द्र बहादुर श्रेष्ठ , सर्लाही अध्यक्ष रामभक्त प्रधान , धनुषा अध्यक्ष गोविन्द श्रेष्ठ , लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेश नम्बर २ का ८ जिल्ला र प्रदेश नम्बर १ को सुनसरी र उदयपुर जिल्ला गरि १० जिल्लाका नेवारहरुको सहभागिता रहेको थियो । 

सो कार्यक्रममा स्वागत मन्तव्य अमर श्रेष्ठले गरेका थिए भने नेवा समाजका सप्तरी अध्यक्ष जितबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com