पारसको विस्फोटक ब्याटिंग गर्दै ऐतिहासिक शतक, सिंगापुर बिरुद्ध नेपालको विशाल जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको छ । यो नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो 

पारसले ४९ बलमा शतक प्रहार गरेका हुन् । यसक्रममा उनले ६ चौका र १० छक्का प्रहार गरे । पारसले १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का प्रहर गर्दै शतक पुरा गरेका हुन् । कप्तान पारस ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन जोडे । १ सय ५२ रनको मध्यम लक्ष्य पक्ष्याएको नेपालले १६ ओभरमा लक्ष्य पूरा गरेको हो । पारसलाई आरिफले ३९ रन जोड्दै साथ दिए ।

त्यसअघि ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरेका थिए । पारस र आरिफले उत्कृष्ट साझेदारी गर्दै नेपालको जित पक्का गरेका थिए । यो विकेटको हिसावले नेपालले हात पारेको टि२० आईमा सबै भन्दा ठूलो जित समेत हो ।

आरिफ शेख ३८ बलमा ५ चौका सहित ३९ रनमा अविजित रहे । कप्तान पारस र आरिफले तेस्रो विकेटका लागि १ सय ४५ रनको शतकीय अविजित साझेदारी गरे । जुन टि२० आईमा कुनै पनि विकेटका लागि नेपालले गरेको उच्च साझेदारी हो । ओपनर इशान पाण्डे ५ रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । सिंगापुरका लागि कप्तान टिम डेविड ४४ बलमा ३ चौका र ४ छक्का सहित ६४ रनमा अविजित रहे । जनक प्रकाश १८ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे । नेपाललाई पहिलो सफलता चौथो ओभरको पहिलो बलमा करण केसीले दिलाए । करणले ओपनर रोहन रंगराजनलाई विकेटकीपर बिनोद भण्डारीबाट ६ रनमा क्याच आउट गराए ।

टि२० आईमा डेब्यू गरेका सुसन भारीले ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई ३५ रनमा बोल्ड आउट गरे । नवौं ओभरको पहिलो बलमा सुसनले बोल्ड आउट गर्नु अघि चन्द्रमोहनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । करणले १५ ओभरको तेस्रो बलमा विकेटकीपर मनप्रित सिंहलाई १५ रनमा एलवी डब्लू आउट गरे । नेपालका लागि करण केसीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

टि२० मा डेब्यू गरेका सुसन भारीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चिदा कुनै विकेट लिएनन् । अभिनाश बोहोराले ३ ओभरमा १६ रन खर्चिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com