प्रदेश २ सरकार कोरोना संक्रमण नियन्त्रणमा गैरजिम्मेवार – नेकपा

जनकपुरधाम , ३ जेष्ठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर २ को सरकार कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्न गैरजिम्मेवार भएको आरोप लगाएको छ ।

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले शुक्रबार एक प्रेस बिज्ञप्ति जारी गर्दै कोरोना भाइरस नियन्त्रणमा प्रदेश २ लालबाबु राउत नेतृत्वको सरकारको गैरजिम्मेवारीपूर्ण, उदासीन र चरम लापरवाहीका कारण सिंगो प्रदेश सन्त्रासमा रहेको आरोप लगाएका छन् ।

नेकपाले शुरुदेखि नै २ नम्बर प्रदेश अन्य प्रदेशको तुलनामा मुख्यतः नेपाल–भारत खुल्ला सीमा र उच्च जनघनत्वका कारण बढी संवेदनशील र जोखिमयुक्त बताउँदै आएको छ । अहिले देशभरमा भेटिएका २५८ जना कोरोना संक्रमितमध्ये लगभग अधिकांश २ नंबर प्रदेशकै हुनु गम्भीर चिन्ताको विषय भएको नेकपा प्रदेश २ ले जनाएको छ ।

सामान्यतया कुनैपनि प्रकारको महासंकट/महाविपत्तिको सामना गर्न संघीय मुलुकमा संघले नीति निर्माण एवं निर्देशनात्मक कार्य गर्दछ भने, प्रदेश सरकार अग्रभागमा रहेर दृढता एवं तादरुकताका साथ आफ्नो कामकार्वाही तथा जिम्मेवारी निरन्तर बहन गर्नुपर्नेमा २ नंबर प्रदेश सरकारको गैरजिम्मेवारीपूर्ण उदाशीनता र चरम लापरवाहीका कारण आज सिङ्गो प्रदेशको यो हविगत देख्न तपाई -हामी बाध्य भएका छौं  बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अहिले नेपालमा पनि कोरोना संक्रमणको तेस्रो चरणमा प्रवेश गरिसकेको गम्भीर अवस्थामा सोही अनुसार परीक्षणको मोडालिटी बिकास गर्न आवश्यक रहेको नेकपा प्रदेश २ ले जनाएको छ ।

पछिल्लो समय कोरोना भाईरसको संक्रमण मुख्यतः प्रदेश नंबर २ लगायत देशभर नै बढ्दो क्रममा रहेकोले यथाशीघ्र लकडाउनलाई वैज्ञानिक एवं भुगोल सुहाँउदो व्यवहारिक रुपमा व्यवस्थित गर्दै अगाडि बढ्न र लकडाउन अझपनि लम्बिन सम्भावना प्रवल नै रहेकोले भारत लगायत अन्य देशमा मुख्यतः रोजगारी र अध्ययनका लागी गएका नेपाली नागरिकहरुमध्ये अहिले स्वदेश फर्कन ईच्छुकहरुलाई यकीन गरी वैध, व्यवस्थित तथा सुरक्षित तवरले स्वदेश फिर्ता बोलाउने वातावरण तत्काल तयार गर्न नेपाल(संघीय) सरकारको समयमैं गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ विज्ञप्तीमा उल्लेख छ ।

विदेशबाट स्वदेश फिर्ता हुने नेपाली नागरिकको अनुमानित संख्यालाई मध्यनजर गर्दै तत्काल आवश्यक क्वारेन्टाइनको निर्माण तथा आइसोलेशनको क्षमतामा बृद्धि, आवश्यक मात्रामा आईसीयु बेड तथा भेन्टिलेटरको प्रबन्धसहित २ नम्बर प्रदेशका प्रत्येक जिल्लामा तत्काल बृहत् संख्यामा कोरोना संक्रमितको परीक्षण गर्नका लागी पिसिआर प्रविधि सहितको भरपर्दो परीक्षणशाला निर्माण, जिल्ला जिल्लामा कोरोना विशेष अस्पताल निर्माण लगायतका माग नेकपा प्रदेश २ ले गरेको छ ।

कामविहीन दक्ष जनशक्तिको उच्चतम प्रयोगको वातावरण निर्माणमा इमान्दारीताका साथ दृढसंकल्पित भएर युद्धस्तरमा लाग्न प्रदेश सरकार सहित सम्बन्धित सबै सरोकारवाला पक्षसँग नेकपाले जोडदार माग गरेको छ ।

तसर्थ कोभीड -१९ कोरोना भाईरस नामक महासंकटको यस चुनौतीपूर्ण समयमा जोखिम न्यूनीकरणको प्रमुख आधार सामाजिक दुरी कायम गर्दै स्वयंसेवी भूमिका सहित समाजमा सचेतना फैलाउने र आफुभन्दा असहाय, गरीब,विपन्न, ज्यालामजदूरी गर्ने तथा जरुरतमन्दहरुलाई आवश्यक सहयोग गर्ने लगायतका सामाजिक कार्यहरुमा सक्रिय रहन पार्टी पंक्तिका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई नेकपा प्रदेश २ ले विशेष अनुरोध गरेको छ ।

निकट भविष्यमा पार्टी–संगठनमा नेतृत्व मुल्यांकनको एउटा प्रमुख आधार कोरोना विरुद्धको संघर्षमा कसको कस्तो भूमिका थियो पनि हुने भएकोले यसमा २ नम्बर प्रदेश, नेकपा मातहतका सम्पूर्ण इमानदार नेता–कार्यकर्तालाई अग्रभागमा रहेर आफ्नो भूमिका खेल्न विशेष अह्वान र अनुरोध नेकपाले गरेको छ ।

साथै सारा विश्वसंगै नेपालमा पनि महाविपत्तिको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिमयुक्त अवस्थामा आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकहरुप्रति उच्च सम्मान, संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com