प्रिन्सिपलको अगुवाइमा महिलाको बलि दिन खोजीयो

नवलपरासी। नवलपरासीमा बालक बलि दिएको घटना सेलाउन नपाउँदै फेरि अर्को अपत्यारिलो घटना सार्वजनिक भएको छ । समाजमा अन्धविश्वास हटाउनुपर्ने विद्यालयका प्रिन्सिपलले स्थानीय एक महिलालाई बलि दिने प्रयास गरेको घटना बाहिर आएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका–३ अमुवामा रहेको न्यु गोल्डेन लाइफ इंग्लिस स्कुलका सञ्चालक तथा प्रिन्सिपल हरेन्द्र बडै शर्माले स्थानीय फूलमति मुसहरलाई बलि दिने प्रयास गरेका थिए । संयोगवश महिलाका आफन्तले थाहा पाएपछि बलि दिनबाट रोकिएको थियो ।

विद्यालय परिसरभित्रै चार फिट गहिरो, डेढ– डेढ फिट लम्बाइ तथा चौडाइको खाल्डो खनेर बलि दिए सो स्थानमा सुन पाइने भन्दै बलि दिन खोजिएको स्थानीयको भनाइ रहेको छ । प्रिन्सिपल शर्माले भने फूलमति बिरामी भएकाले उनलाई सञ्चो गराउने उद्देश्यले पूजा गर्न थालिएको दाबी गरेका छन् ।

स्रोतका अनुसार फूलमतिसँग लामो समयसम्म बोलचाल बन्द भएका प्रिन्सिपल हरेन्द्रले फूलमतिका देवर र नन्दको सहारामा ती महिलालाई उक्त स्थलमा राति १२ बजे लगेका थिए । शर्माले १८ जेठको शुक्रबार राति धामी बोलाएर स्कुलको प्राङ्गणअघि रहेको टहरोमा करिब चार फिट गहिरो खाल्डो खनेर विशेष पूजा गरेको र राति करिब १२ बजे विद्यालयसँगै जोडिएको घरमा रहेकी फूलमतिलाई उनकै देवर– देउरानी पञ्चराम मुसहर र चन्दा मुसहरलाई प्रयोग गरेर घरबाट लिएर आएको स्थानीयले बताएका छन् ।

विशेष पूजा गरिरहेको स्थानमा गहिरो खाल्डो र धारिलो हतियार तथा पूजाआजा चलिरहेको देखेपछि फूलमति भागेर एक स्थानीयको घरमा पुगेपछि घटना बाहिरिएको हो । स्थानीयले घटनाका बारेमा प्रहरीलाई खबर गरेपछि राति २ बजे इलाका प्रहरी कार्यालय समेमरीको टोली पुग्दा खाडल देखेको र पूजाआजा गरेको पाइएको प्रहरी नायब निरीक्षक झलक श्रेष्ठले बताए । स्थानीयका अनुसार हरेन्द्रले धामी कृष्ण प्याकुरेलको भनाइमा विश्वास गर्दै खाडल खनेको ठाउँमा मानव बलि दिए सोही ठाउँमा सुन पाइने आसमा विशेष पूजा लगाएर बलि दिन आँटेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com