बिघौ जग्गा दान गर्ने दानबीर सांसद चौधरी

राजविराज, २७ मंसीर । 
अहिलेको समयमा कसले कति जग्गा दान दिन सक्छन् रु एक कठ्ठा, दुई कठ्ठा या एक बिघा । अथवा कसैले एक पटक मात्रै दान गर्ने गर्छन् । तर, सप्तरीका एक व्यक्ति यस्ता छन् जसले आफ्नो जीवनभर जग्गा दान गर्दै आएका छन् । बजार बसाउनेदेखि लिएर सरकारी कार्यालयदेखि विद्यालय र स्वास्थ्य संस्था खोल्नका निम्ति जीवनभर जग्गा दान गर्दै आएका छन् ।


यौवनावस्थादेखि नै जग्गा दान गर्दै आएका उनी हुन् अहिलेको प्रतिनिधीसभाका सांसद चन्द्रकान्त चौधरी । ७२ बर्ष उमेरका चौधरी सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो निवासी हुन् । उनले नै पातो बजार बसाउनेदेखि त्यहाँ, स्वास्थ्य, खानेपानीदेखि सशस्त्र र नेपाल प्रहरीको भवन बनाउन जग्गा दान दिदैं नगद समेत सहयोग गरेका छन् । ‘बिना कुनै स्वार्थ जग्गा दान दिदैं आएको छु’ उनले भने, “यहाँका जनताले सबै सेवा, सुविधा आफ्नो गाउँ–ठाउँमा पाओस् भन्ने अपेक्षा छ । र, यहीं अपेक्षाका लागि अहिले पनि काम गरिरहेको छु ।”
मुलुक संघीयतामा प्रवेश गरेसँगै नयाँ स्थानीय तह निर्माण भएपछि नगरपालिकाको भवन बनाउन करोडौं मूल्यको जग्गा दान गरेका छन् उनले । ‘पातो बजारकै १० कठ्ठा जग्गा उहाँले नगरपालिकाको भवन निर्माणका लागि दान गर्नुभएको छ’ नगरपालिकाका मेयर शिबनारायण साहले भने, “जग्गाको मूल्य पाँच करोडभन्दा बढी छ ।”
हरेक क्षेत्रमा दानै दान
सांसद चन्द्रकान्त जमिन्दारका छोरा हुन् । उनका बुवा उमाकान्त अत्यधिक जग्गा हुने व्यक्ति थिए । २०३३ सालमा जंगलै जंगल रहेको पातो क्षेत्रमा बजार बनाउन जग्गा दिए उनले । र, पसलहरु खोलाउन लगाए । त्यस बेला १२ बिघा बजारका लागि दान दिइएको थियो ।
‘बजार बनाउने बेला बाटोको पनि समस्या देखिएको थियो’ सांसद चौधरीले भने, “बजार आउन जान बाटोका लागि ५ बिघा जग्गा थप दिएँ त्यहीं बेला ।”
सोही समय शिक्षाको कमी महसुस गरे चन्द्रकान्त र उनका पिताले । छोरालाई भारतको दरभंगा पढाउन पठाएपछि उनका पितालाई गाउँमै विद्यालय खोल्न मन लाग्यो । २०३३ सालमा भारतको दरभंगास्थित मारबाडी विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेको समयमा उनी गाउँ आए र सोही समयमा विद्यालय खोल्ने सोंच बनाए । यसका निम्ति शुरुमा ४७ बिघा जग्गा दान गरे चन्द्रकान्तले ।
उमाकान्तका पिताले धेरै भाकल गरेपछि जेठो छोराको रुपमा चन्द्रकान्त जन्मिएपछि चन्द्रकान्तको हरेक कुरा उमाकान्तले मान्थे । उनले कुनै कामका लागि जग्गा दान दिन खोज्दा उनका पिताले रोक्दैन्थे । ‘बुवाले पनि छोराले राम्रो काम गरिरहेका छन् भनेर साथ दिनुहुन्थ्यो’ चन्द्रकान्तले भने ।
चन्द्रकान्तको नामले बुवाले विद्यालय खोले । ‘तर बुवाले मेरो बुवा कन्तलालको नामबाट माध्यमिक विद्यालय बनाउन आग्रह गर्नुभयो । मैले त्यसै अनुसार गरे र पुनः पाँच बिघा जग्गा दिएँ ।” पछि होस्टल बनाउन, खेल मैदान बनाउन र भवन निर्माण गर्न समेत गरी ६३ बिघा जग्गा विद्यालयलाई प्रदान गरिएको उनले बताए ।
विद्यालय खुल्यो । बजार पनि बन्यो । तर सरकारी सेवा, सुविधा लिन यस क्षेत्रका जनतालाई सास्ती व्यहोर्नुपर्ने अवस्था बिद्यमान थियो । यो आवश्यक्तालाई महसुस गरेका चन्द्रकान्तले शुरुमा १३ कठ्ठा जग्गा दान दिएर स्वास्थ्य चौकी खोल्न लगाए ।
यस क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा पाउन थालेपनि कृषकहरुका लागि समस्या बिद्यमानै थियो । किनभने पशु चौपाया बिरामी परे टाढा लग्नुपर्ने हुन्थ्यो उपचारका लागि । यो अवस्था हेरेपछि उनले पुनः १३ कठ्ठा जग्गा दिए कृषि कार्यालय र पशु कार्यालय स्थापनाका लागि ।
गाउँमा सबै आवश्यक्ता पूर्ती हुँदै जाँदा सुरक्षाको सवाल अहंम बन्यो । ‘शुरुमा त आफैं गाउँ–गाउँ घुमेर सुरक्षा दिने काममा खटियौं’ उनले भने, “विस्तारै प्रहरी चौकी भवन बनाउने बिषयमा गाउँमा छलफल हुँदा आठ कठ्ठा जग्गा दिए र प्रहरी चौकी स्थापना भयो ।” उनले प्रहरीको भवन बनाउन नगद रु ३ लाख ५० हजार समेत उपलब्ध गराए आफ्नो तर्फबाट ।
यसबाहेक उनले खानेपानीको भवन बनाउन ५ कठ्ठा, सशस्त्र प्रहरीको भवन बनाउन १० कठ्ठा, साना किसानको भवन बनाउन १० कठ्ठा, सहकारी संस्थालाई ५ कठ्ठा जग्गा दान गरेका छन् ।
अहिले भएको पातो बजारमा हटियाका निम्ति सेड निर्माण गर्न पनि उनले ११ कठ्ठा जग्गा उपलब्ध गराएका छन् । उनले दिएको जग्गामा नगरपालिकाले रु ५० लाख खर्च गरी सेड समेत निर्माण गरिसकेका छन् ।
अस्पतालका लागि जग्गा दान दिन तयार
सांसद चौधरीले यस क्षेत्रमा प्रायः सबै थोक भएपनि व्यक्तिको स्वास्थ्योपचारका लागि समस्या हुने गरेको बताए । ‘यसका निम्ति म चिन्तित छु’ उनले भने, “अब सांसद बनेपछि यो पनि सपना पूरा हुने विश्वास लिएको छु ।”
उनले यस क्षेत्रमा अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्री उपेन्द्र यादवज्यूसँग कुरा गरिसकेको बताए । ‘कुरा गर्दा स्वास्थ्य मन्त्रीले यसका निम्ति जग्गा खोज्नुपर्ने बताउँदा आफू नै दिन तयार रहेको बताएपछि २५ बेडसम्मको अस्पताल बनाउन सकिने आश्वासन पाएको छु ।”
उनले अस्पताल निर्माणका लागि चाहिने जति जग्गा उपलब्ध गराउने बताए ।
राजा हरिश्चन्द्रको प्रेरणा
उनी भारतको पढाई गरिरहँदा थुप्रै नाटकमा अभिनय गर्थे । उनले यस क्रममा राजा हरिश्चन्द्रको नाटकमा अभिनय गरे । उनलाई हरिश्चन्द्रकोे कथा साह्रै मन प¥यो । कथा मन परेपछि उनले धेरै पटक हरिश्चन्द्रको नाटकमा अभिनय गरे । नाटक गर्ने क्रममा राजा हरिश्चन्द्रको भनाई “बेचदेही दारा सुमन होहु दास हुमन, मन वच कर्म ही अभिमानी” भन्ने शब्दको प्रयोग गर्नुप¥थ्यो उनलाई । उनले यहीं शब्दबाट मन र कर्मले अरुका लागि काम गर्नुपर्छ भनेर सिकेको बताए ।
राजा हरिश्चन्द्रकै इतिहासबाट प्रेरणा लिदैं दान गर्न थालेको बताए उनले । ग्रीन मधेस दैनिक बाट  

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com