मन्त्रिपरिषद बिस्तारको तयारी, फोरम पनि सरकारमा जाने

२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । संघीय समाजवादी फोरमलाई समेत समेटेर मन्त्रिपरिषद बिस्तारको तयारी गरिएको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको स्रोतले बतायो । तर मन्त्रालयको टुंगो लागिसकेको छैन । फोरमले तीनवटा मन्त्रालय दावी गरे पनि दुईवटा पाउने सम्भावना छ ।

फोरम नेतृ रेणु कुमारी यादवले अनलाइनखबरसँग भनिन्, ‘सरकारमा जाने निर्णय त पार्टीले गरिसक्यो तर, कहिले जाने, को-को जाने भन्ने कुरा टुंगो लागिसकेको छैन ।’

राजपालाई पनि सरकारमा ल्याउने गृहकार्य भइरहे पनि राजपाले भने निर्णय गरिसकेको छैन ।

गत फागुन ३ गते ओलीले प्रधानमन्त्रीको शपथ लिएका थिए । हाल ओली नेतृत्वको मन्त्रिपरिषद सात सदस्यीय छ । मन्त्रालयको संख्या १८ वटा कायम गरिएकाले अझै ११ मन्त्री थप्नुपर्ने छ । तर, बिहीबारको मन्त्रिपरिषद बैठकमा मन्त्रालयको संख्या थप्ने विषयमा छलफल पनि भएको थियो ।

ओलीले फोरमसँगै एमाले, माओवादीबाट पनि मन्त्री थप्दै सरकारलाई पूर्णता दिने तयारी गरेको नेताहरुले बताएका छन् ।

माओवादी प्रवक्ता पम्फा भुसालले बिहीबार प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलअनुसार शुक्रबार मन्त्रिपरिषद विस्तार हुनसक्ने बताइन् ।

तपाईको प्रतिक्रिया

About the Author

Team KR News