राजविराजमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत किशोरकिशोरीलाई कानुनी शिक्षा

राजविराज, १२ मंसिर । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत मूल समारोह समिति सप्तरीको आयोजनामा बिहीबार सप्तरीको राजविराज स्थित प.बि. मा.वि. मा किशोर किशोरीका लागि कानूनी शिक्षा विषयमा तालिमको आयोजना गरिएको छ ।

‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तालिममा कक्षा ९, ११ र १२ का एक सय १५ जना किशोर किशोरीलाई कानून व्यवसायीहरुले संविधान र कानूनी ज्ञानका बारेमा जानकारी गराएका थिए ।

‘बालविवाहको संविधानमा मौलिक हक र कानूनी अधिकार’ शिर्षकमा अधिवक्ता मीना देब, विहेबारी र बालविवाहको कानूनी व्यवस्था शिर्षकमा अधिवक्ता दानो चौधरी तथा ‘यौन दुव्र्यवहार र बालयौन दुराचार’ शिर्षकमा अभिवक्ता रंजिता रिजालले तालिम सञ्चालन गरेका थिए ।

सप्तरी जिल्ला बार एकाईका अध्यक्ष डोमन साहको अध्यक्षता एवम् मूल समारोह समितिका मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, शिक्षकहरु गिरीराज पौडेल, रासस प्रतिनिधी पुनम पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा शिक्षक लक्ष्मण मेहता, समग्र जनउत्थान केन्द्रकी सहजकर्ताहरु लक्ष्मी परियार र निरज जायसवालको उपस्थिती रहेको थियो ।
बालबालिकालाई हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट जोगाउनका साथै कानूनी समस्यामा परेका बेला बालबालिकाको हकमा कानूनी प्रावधानहरू र उपायहरुबारे जानकारी दिन तालिमको आयोजना गरिएको आयोजक मूल समारोह समितिले जनाएको छ ।

समग्र जनउत्थान केन्द्रको सहयोगमा एक दिने सो तालिम सप्तरी जिल्ला बार एकाईको संयोजनमा भएको हो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com