राष्ट्रपति भण्डारीले गरिन् चिनियाँ समकक्षी सीलाई विमानस्थलमा स्वागत

काठमाडौं, असोज २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ समकक्षी सी चिनफिङलाई विमानस्थलमा स्वागत गरेकी छिन्।
नेपालको दुई दिन राजकीय भ्रमणका लागि राष्ट्रपति सी शनिबार अपरान्ह काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका राष्ट्रपति सीलाई समकक्षी भण्डारीले उनी सवार विमान नजिकै पुगेर स्वागत गरेकी हुन्। राष्ट्रपति भण्डारीसहित परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली पनि पुगेका थिए।
नेपाली सेनाको टुकुडीले राष्ट्रपति सीको सम्मानमा गार्ड अफ अनर प्रदान गरेको थियो। सेनाको गार्ड अफ अनर ग्रहणपछि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायत मन्त्रीहरुले विमानस्थलमा स्वागत गरेका थिए।

विमानस्थलबाट चिनियाँ राष्ट्रपति सी सिधैँ सोल्टी होटलतर्फ प्रस्थान गरेका छन्। सोल्टी होटलमा केही समय आराम गरेपछि राष्ट्रपति सी समकक्षी विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्ने छन्। राष्ट्रपति भण्डारीसँगको भेटपटि सीले आजै साँझ प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम छ।
नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने आइतबारमात्रै भेट्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com