राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनाद्वारा सप्तरीको रुपनगरमा मदन भण्डारी खेलग्रामको शिलान्यास

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १ चैत्र ।

सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ९ खयरवनमा शुक्रबार मदन भण्डारी खेलग्रामको राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिम्सिनाले शिलान्यास गरेका छन् ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष तिम्सिनाले सप्तरी जिल्लाको उर्वर भूमि रुपनगरमा खेलग्रामको शिलान्यास हुनु ठूलो उपलब्धि भएको बताउदै खेलकुदको माध्यमद्वारा राष्ट्रको एकतालाई एकजुट बनाउन सहयोग गर्ने बताए । 

खेलाडीहरुको शारीरिक र मानसिक विकास नभएसम्म खेलकुदको विकास असम्भव रहेकाले खेलाडीका लागि लगानी गर्न सरकार दत्तचित्त भएर लागि रहेको बताउदै शिलान्यास देखाउनका लागि मात्र नभएर काम गर्नका लागि भएको र यसको पूर्वाधार निर्माणका लागि गुरु योजना बनाएर ७ दिनभित्र पठाउन नगर प्रमुख बसन्त कुमारलाई निर्देशन समेत दिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर २ का सचिव तथा राष्ट्रिय सभाका सांसद सुमनराज प्याकुरेलले हामी कर्ममा विश्वास गर्छौं त्यसैले व्यवहार र काम गरेर आफूतिर आकर्षण गर्न सफल हुन्छौं । नेपाली जनताको सुख, शान्ति , सुशासन भन्ने सपनालाई साकार पार्न समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई अघि सारी सरकारले विकास निर्माणको कार्यलाई तिव्रताका साथ अगाडि बढाई रहेको बताउदै यो खेलमैदानलाई नेपालकै उत्कृष्ट खेलमैदान बनाउन आफू लागि पर्ने बताए । 

प्रतिनिधि सभाकी सांसद सरिता गिरी यादवले विकास निर्माणको सवालमा सप्तरी जिल्ला सधैं अगाडि हुनुपर्छ भन्ने विषयमा जनप्रतिनिधिहरु चिन्तित रहेको बताउदै यस खेलमैदानलाई नमुना बनाउनका लागि आफू लागि पर्ने बताइन् । 

१ सय २४ बिघामा खेल ग्राम निर्माणका लागि यस आर्थिक वर्ष रु. २५ लाख विनियोजन भई काम सुरु हुन लागेको जिल्ला खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेलले बताए ।

नगर प्रमुख बसन्त कुमारले धन्यवाद ज्ञापन गरे भने स्वागत मन्तव्य खेलकुद विकास समितिका राजकुमार परियारले गरेका थिए । वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com