राष्ट्रिय स्वाभिमानका लागि युवा अभियान’ नेपालका नेतृत्वकर्ता एवं नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे सम्मानित

राजविराज, १२ फागुन । ‘राष्ट्रिय स्वाभिमानका लागि युवा अभियान’ नेपालका नेतृत्वकर्ता एवं नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेलाई आइतबार तिलाठीवासीले नागरिक अभिनन्दनसहित सम्मान गरेका छन् ।

तिलाठीवासीले गरेको नागरिक अभिनन्दन ग्रहण गर्दै ठाकुर गैरे ।

नेपालको तिलाठी र भारतको कुनौलीस्थित दशगजा क्षेत्रमा ०७३ असोज १३ गते भारतीय पक्षसँग भएको झडपमा देबनारायण यादव, दुर्गानन्द झासहित आठ जना घाइते भएका थिए ।

भारतीय अतिक्रमण विरुद्धको झडपमा घाइते तिलाठीका योद्धाहरुको उपचारमा सहयोग पु¥याउनुका साथै तिलाठीको सिमा विवादलाई राष्ट्रिय बहसको विषय बनाउन योगदान गरेको भन्दै तिलाठीवासीले गैरेलाई गाउँपालिका कार्यालयस्थित मञ्चमा भव्य रुपमा नागरिक अभिनन्दन गरि सम्मान गरेका हुन् ।

तिलाठी कोइलाडी गाउँपालिकाका वडा अध्यक्ष दिनेश्वर मिश्रसहित नेकपा, नेपाली काँग्रेस, संघीय समाजवादी फोरम, राजपामा आबद्ध नेताहरुसहित स्थानीयवासीले गैरेलाई अभिनन्दन पत्र र मिथिला पेन्टिङ्ग प्रदान गर्नुका साथै माला, पाग, गम्छा र दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रममा पूर्व सिंचाई मन्त्री उमेश यादव, २ नम्बर प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, जिल्ला विकास समितिका पूर्व सदस्य प्रतापनारायण चौधरी, पत्रकार मनोहर पोखरेललाई समेत गम्छा, दोसल्ला, माला र अबिर लगाएर सम्मान गरियो ।

    अभिननदन कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले सजिव जंगे पिलर बनेर सिमाक्षेत्रका नागरिकले सिमानाको रक्षा गरिरहेकोमा प्रशंसा गर्दै नेपाल स्वतन्त्र, सार्वभौम र स्वाधिन राष्ट्र हो भन्ने कुरा कसैले बिर्सन नहुने बताए ।
सिमाको रक्षा, जगेर्ना र समस्या हल गर्ने काममा सहयोग र सकारात्मक पहलकदमी गरिने उनले प्रतिबद्धता जनाए । दुई देशका सरकार प्रमुखहरु बसेर पुनः समस्या नहुने गरी समाधानको पहल गर्नुपर्ने भन्दै गैरेले खाँडो नदीको समस्या, सिमा व्यवस्थित गर्ने र विकास निर्माणको काममा सामुहिक पहलकदमी र सहकार्यले समाधान हुने विश्वास व्यक्त गरे ।
स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालले समानताका आधारमा सम्बन्ध गाँस्ने र असमान सन्धी सम्झौतालाई समानतामा परिणत गर्ने भन्दै गैरेले नेपालीका तर्फबाट दखल नहुने तर छिमेकी मुलुकले गलत उद्देश्यले हस्तक्षेप गरे प्रतिवाद गरिने बताए ।
गैरेले तिलाठीमा भएको २२३ नम्बरको जंगे पिलर सारिएझै कालापानी, सुस्ता, भिमापुर, पशुपतिनगर, छपकैयालगायत ६२ स्थानमा हजारौ हेक्टर नेपालको जमिन मिचिएको जानकारी दिए । सिमानामा सडक बनाउने बहानामा भारतले बाँध बनाउने काम गरिरहेको भन्दै गैरेले हुलाकी राजमार्ग बनाउने क्रममा पानी निकास हुने किसिमले ठाउँ–ठाउँमा ठूला कलभर्टहरु बनाउनुपर्ने कुरामा ध्यान दिन स्थानीयवासी सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा पूर्व सिंचाई मन्त्री उमेश यादवले खाँडो नदीले क्षति पु¥याएको जमिनको क्षतिपूर्ति जग्गाधनीले पाउनुपर्ने दाबी गरे । तिलाठी, लालापट्टीका वासिन्दाले राष्ट्रियता, स्वतन्त्रताका लागि गरेको योगदानप्रति गौरव गर्दै यादवले अन्य सिमा मिचिएको ठाउँको समेत तिलाठीले नेतृत्व गर्नुपर्ने बताए ।
यसैगरी २ नम्बर प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेले मुलुकको जग बलियो बनाउने काममा सरकार लागिपरेकोले दुई वर्ष भित्र सुन्दर शहर तयार हुने विश्वास दिलाए । सिमारक्षक दुर्गानन्द झाको अध्यक्षतामा भएको कार्यक्रममा सिमारक्षक देवनारायण यादव, नेकपाका अखिलेश झा, बालेश्वर झा, काँग्रेसका रत्नेश्वर झा, फोरमका विजय यादव, राजपाका ललीतनारायण झा, नागेन्द्र झा, निरज मुक्ति, कृपानन्द झालगायतकाले राजनीतिक पहुँच कमजोर बन्दै गएकोले ऐतिहासिक स्थल तिलाठी गाउँ पछाडि परेको र समस्याहरु यथावत रहेकोमा चिन्ता प्रकट गरे ।
सिमामा भारतीयसँग भएको झडपमा तिलाठीवासीलाई साथ दिएकोमा ठाकुर गैरेप्रति आभार व्यक्त गर्दै तिलाठीवासीले राष्ट्रियता र स्वतन्त्रताका लागि पुर्खाहरुले गरेको योगदानलाई निरन्तरता दिइरहने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com