रुपनगर नन्दराज संग्रौला क्याम्पस रुपनगरको विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २४ असोज ।

रुपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चनरूप -१२ रुपनगरको शुक्रबार क्याम्पसको प्राङ्गणमा विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

सो बैठकमा बोल्दै नगर प्रमुख बसन्त कुमारले गुणस्तरीय शिक्षा र क्षमतावान विद्यार्थी निर्माण गर्नु आफ्नो प्रमुख दायित्व रहेको हुदा क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्र राम्रो भएन भने विकासले गति नलिने बताए ।

जग्गा दाता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गिरीराज संग्रौलाले क्याम्पसलाई राम्रो बनाउन स्थानीय सरकार ( कञ्चनरूप नगरपालिका ) ले विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै यो क्याम्पस नगरपालिकाको मात्र नभएर सप्तरी जिल्लाकै नमुना क्याम्पस भएको हुँदा यसको विकासका लागि स्थानीय जनताहरु जागरुक भएर लाग्न आवश्यक रहेको र क्याम्पसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

क्याम्पस प्रमुख दिगम्बर साह , समाजसेवी हुतराज रेग्मी , क्याम्पस व्यवस्थापन समितिका सदस्यद्वय जित बहादुर श्रेष्ठ , भुवन बहादुर केसी , १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्री लगायतका वक्ताहरूले क्याम्पसको विकास र भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

आइटि कक्षा संचालन र निर्माणाधीन क्याम्पसको अधुरो भवन पुरा गर्नका लागि स्थानीय सरकार , प्रदेश सरकार , संघीय सरकार र सांसदहरूसँग आर्थिक सहयोग माग गर्ने महत्त्वपूर्ण निर्णय भएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गिरिराज संग्रौलाको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com