सगरमाथा बहुमुखी सहकारी संस्था रुपनगरले थाल्यो आर्गेनिक तरकारी खेती

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २४ साउन ।

बजारमा विषादीयुक्त तरकारी छ्याप छ्यापती हुनथाले पछि एक स्थानीय सहकारीले विषादी नभएको आर्गेनिक तरकारी खेती सुरु गरेको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. १२ रुपनगरमा रहेको सगरमाथा बहुमुखी सहकारी संस्था लिमिटेडले बद्री मण्डलको १५ कठ्ठा जमिन वार्षिक ३० मन धान तिर्ने गरि २०७६ साल जेठ १५ गते जमिन लिजमा लिएर आर्गेनिक तरकारी खेती सुरु गरिएको सहकारीका अध्यक्ष राजन अधिकारीले बताए ।

अहिलेको समयमा स्वस्थ रही स्वस्थ खाद्यान्न र तरकारी बिक्री वितरण गर्नुको साटो धेरै आर्थिक लाभका विषादी युक्त तरकारी लगायत र खाद्यान्न बिक्री हुने र त्यसबाट मानिसमा विभिन्न किसिमका रोग लाग्ने भएकाले समाजलाई र उपभोक्ताहरुलाई स्वस्थ राख्नका लागि सहकारीले विषादी नभएको आर्गेनिक तरकारी खेती सुरु गरेको अध्यक्ष अधिकारीले बताए ।

तरकारी टिप्दै संस्थाका अध्यक्ष अधिकारी

५५ हजारको लागतमा ७ कठ्ठामा भिन्डी , ४ कठ्ठामा बोडी र ४ कठ्ठामा करेला परिक्षणका रुपमा आर्गेनिक खेतीको सुरुवात गरी तुरुन्तै १ बिघा जमिन थप लिजमा लिएर गरिने र प्रत्येक सेयर सदस्यलाई १ कठ्ठा जमिन उपलब्ध गराई आर्गेनिक तरकारी खेती गर्न दिइने साथै विषादी रहित तरकारी प्रत्येक घर घरमा उत्पादन गर्न लगाउने लक्ष्य रहेको अधिकारीले बताए ।

किरा मार्नका लागि अौषधीको रुपमा गाईको गहुत , निमको तेल , बकाइनोको झोल , तितेपाति , सुर्तीको रस , दुल्फी , भाटिको प्रयोग गर्ने गरेको सहकारीका सचिव नवराज पोखरेलले बताए ।

मलको रुपमा जि.एम.टी. आर्गेनीक मल, किसान आर्गेनीक मल , कम्पोस्ट मल , कुखुराको सुली , कुहिएको झारपात , सेउला प्रयोग गरिएको पोखरेलले बताए ।

रु. ३० का दरले ४० केजी भिन्डी र रु. ६० का दरले ३ केजी करेला बिक्रीवितरण समेत गरिएको पोखरेलले जानकारी दिए ।

अहिलेसम्म बोट तथा बिरुवा राम्रो भएको हुदा आर्गेनीक तरकारी खेतीबाट राम्रै फाइदा हुने सहकारीका सहयोगी बलराम पौडेल विश्वास गर्दछन् ।

आर्गेनीक तरकारी खेती राम्रो भएको देखेर प्रोत्साहनका लागि कञ्चनरूप नगरपालिका कृषि शाखा कंचनपुरले पानी पटाउनका लागि एउटा ६५ हजार मुल्य बराबरको समरसियल पम्प जडान गरिदिएको कृषि शाखाका संयोजक वेचन सढोक यादवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com