सत्ताको खेलले टुट्दै फोरम–राजपा गठबन्धन

जेष्ठ १४, २०७५ पछिल्लो राजनीतिक घटनाक्रम बारे समीक्षा गर्दै नयाँ रणनीति तय गर्न राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डलको वैठक वस्दैछ । केन्द्रमा सुरु सत्ता समीकरणको छलफलका कारण प्रदेश २ मा संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धन संकटमा परेपछि राजपा आन्तरिक छलफलमा जुटेको हो । संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा फोरम नेपालसँग दुरी बढेपछि राजपा नयाँ रणनीति र पार्टीगत धारणा तय गर्न छलफलमा जुटेको हो ।

संविधान संशोधनमा नेपाल कम्युनिष्ट पार्टी नेकपासँग सहमति भएको भन्दै फोरम नेपालले केन्द्रीय सरकारमा आउने तयारी गरेपछि राजपासँगको गठबन्धन समेत धरापमा परेको हो । प्रदेश २ बाहेक सवै प्रदेश र केन्द्रमा नेकपाले स्पष्ट बहुमत सहितको सरकार छ । केन्द्रमा फोरम नेपाललाई सरकारमा सहभागी गराउने कसरत गरिरहेको नेकपाले उसकै नेतृत्वमा रहेको प्रदेश २ सरकारलाई दिएको समर्थन भने हिजो फिर्ता लिएको थियो । नयाँ घटनाक्रमले प्रदेश २ मा समेत नेकपा र फोरम नेपालबीचको गठबन्धनमा सरकार गठन हुने सम्भावना देखिएको छ ।

प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचनमा सहयात्रा गरेका फोरम र राजपाबीच पुन: सरकारमा सहभागीताको बिषयमा दरार उत्पन्न भएको हो । नेकपासँग गठवन्धन गरेर फोरमले आफुहरुलाई वाईपास गर्न खोजेको राजपा महासचिव केशव झाले आरोप लगाउनुभयो । आज वस्ने अध्यक्ष मण्डलको वैठकले यो विषयमा गम्भिर छलफल गर्ने उहाँको भनाई छ । बैठकले आगामी २५ गते वस्ने राजनीतिक समितिको वैठकको ऐजेण्डा समेत तय गर्नेछ ।

नेकपा र फोरमबीच छलफल हुँदै सरकारमा सहभागीताका बिषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र संघिय समाजबादी फोरम नेपालबीच आज छलफल हुदैछ । सरकारले आफ्ना माग पुरा गर्ने प्रतिबद्धता जनाए सरकारमा सहभागी हुने फोरम नेपालले यसअघि नै निर्णय गरिसकेकेको छ । सिंहदरबारमा हुने छलफलले केन्द्र र प्रदेश सरकारको समीकरण सम्बन्धमा निर्णय गर्ने फोरम नेपालका बरिष्ठ नेता अशोक राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– सरकारबाट आफ्ना माग सम्बोधनको स्पष्ट प्रतिबद्धता आए हामी तत्काल सरकारमा सहभागी हुन्छौ, यसबारे आज शीर्ष तहमा छलफल हुनेछ ।  सरकार गठनका समय गत फागुन पहिलो साता नै सरकारमा सहभागी हुने तयारी फोरमले गरेपनि उपप्रधानमन्त्री सहितको मागमा सहमति हुन नसकेपछि रोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान संसोधनका लागी केही लचक हुने संकेत गरेसँगै समाजबादी फोरम सरकारमा जान तयार देखिएको हो । सिंहदरबारमा हुने छलफलले केन्द्रसँगै प्रदेश २ मा सत्तासमीकरणको समेत टुंगो लगाउनेछ । छलफल नयाँ गठबन्धन निर्माण, केन्द्र सरकारमा फोरमको सहभागीता र मन्त्रालय बाँडफाड, प्रदेश २ को मुख्यमन्त्री र मन्त्रालय बाँडफाड लगायत बिषयमा केन्द्रित रहने नेताहरुले बताएका छन् । फोरम सरकारमा सहभागी भए बर्तमान सरकार दुई तिहाई बहुमतको बन्नेछ । 

तपाईको प्रतिक्रिया

About the Author

Team KR News