सप्तरीको क्षेत्र नं. १ का सांसदहरूले हात्ती नियन्त्रणका लागि छुट्याए ६ करोड

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २७ कार्तिक ।

सप्तरीको क्षेत्र नम्बर १ का सांसदहरूले आर्थिक वर्ष २०७६/०७७ को संसदीय कोषको ६ करोड रकम हात्ती नियन्त्रणका लागि विनियोजन गरेका छन् ।

जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा मंगलबार बसेको बैठकले सर्वसम्मत रुपमा उक्त रकम हात्ती नियन्त्रणका लागि विनियोजन गरेको राष्ट्रिय सभाका सांसद सुमनराज प्याकुरेलले बताए ।

सांसद प्याकुरेलका अनुसार बैठकमा सप्तरी क्षेत्र नं. १ का प्रत्यक्ष निर्वाचित सांसद डा. सूर्यनारायण यादव र प्रतिनिधि सभाकी सांसद सरिता गिरी यादव समेत तीनैजना सांसदहरूले सर्वसम्मत रुपमा उक्त रकम हात्ती नियन्त्रणका लागि विनियोजन गरेको बताएका छन् ।

त्यसका लागि वन तथा वातावरण मन्त्रालयले १२ करोड , कञ्चनरूप र सप्तकोसी नगरपालिकाले १ करोड रकम लगानी गरी सप्तकोसी नगरपालिका देखि हनुमाननगर कंकालिनी नगरपालिकासम्म कोशी बाधमा सिमेन्टको पर्खाल लगाउने सांसद प्याकुरेलले बताए ।

दिनहुँ किसान र स्थानीय बासिलाई जंगली जनावर र हात्तीले दुख दिई करोडौंको अन्नबाली खाई नोक्सान पुर्‍याउनुको साथै कयौं मानिसले ज्यान समेत गुमाउनुपरेकोले किसान जनता सुख शान्ति होस भनेर हात्ती नियन्त्रणका लागि रकम विनियोजन गरेको सांसद सरिता गिरी यादवले बताइन् ।

हात्ती नियन्त्रणका लागि कोशी टप्पु वन्यजन्तु आरक्षणले समेत ७२ लाख रकम छुट्याइएको कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले बताए ।

बैठकमा कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार , सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा गौतम , तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहडखेर समेतको उपस्थिति रहेको थियो भने सप्तरी क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित सांसद डा. सूर्यनारायण यादवको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो  ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com