सप्तरीमा ३ जनाको मृत्यु ; कोरोनाको आशंका

सप्तरी साउन २१ गते । सप्तरीमा कोरोना जस्तै लक्षण देखापरेका तीन जनाको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो ।
मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका ती पुरुषलाई मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । यहाँ उपचार हुन नसकेपछि धरानतर्फ पठाइएपछि त्यसतर्फ जाने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले बताए ।
यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए ।
कोरोनाको आशंका गरिएका मृतकहरुको पीसीआर परीक्षणको लागि स्वाब लिने कार्य भइरहेको छ । तीनै जनाको स्वाब संकलन भएपछि मात्र संस्कार गर्न दिइने र स्वाब संकलनको लागि स्वास्थ्यकर्मी टोली पठाइसकेको यादवले बताए ।

मृत्यु भएका रुपनी गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको बुधबार बिहान परिवारजनले अन्तिम संस्कार गरिरहँदा प्रहरी पुगेर रोकेको छ । स्वाब संकलनका लागि अन्त्येष्टि कार्य रोकिएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com